Sunday, July 24, 2016

जगजित श्रेष्ठले अस्ट्रेलियन क्लबका लगातार दोस्रो खेलमा पनि गोल गरे

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर जगजित श्रेष्ठले अस्ट्रेलियन क्लबका लगातार दोस्रो खेलमा पनि गोल गरेका छन्। शनिबारको खेलमा उनको गोलबाट बराबरी गरेको ह्युम युनाइटेडले फिट्जरोय सिटीलाई ३–२ ले हराएको छ।
अघिल्लो साता जगजितले 'डेब्यु' खेलमै दुई गोल गरेपछि ह्युम युनाइटेडले स्पोर्टिङ विटलिसियामाथि ३–२ को विजय पाएको थियो। लगातारको दुई जितपछि ह्युम मेलबर्नको भिक्टोरिया स्टेटको दोस्रो डिभिजनको अंकतालिकामा छैटौं स्थानमा उक्लेको छ। उनी आबद्ध हुनुअघि १२ टोली सहभागी रहेको लिगमा ह्युम दसौं स्थानमा थियो।
शनिबार खेलमा २–० ले पछि परेर पनि जगजितको टोली नतिजा उल्टाउन सफल भएको थियो। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएपछि दोस्रो हाफको १२ मिनेटभित्र ह्युम युनाइटेड २–० ले पछि परेको थियो। तारकानको फ्रिकिक गोलबाट खेलमा फर्केको ह्युमका लागि जगजितले झन्डै ३५ यार्डबाट फ्रिकिकमै बराबरी गोल  फर्काएका थिए। खेल सकिन एक मिनेट बाँकी रहँदा कप्तान लियोन बिलालले हेडमार्फत गोल गरेपछि ह्युम लगातार दोस्रो खेलमा विजयी भएको थियो।
टोलीको लगातार सफलतामा आफ्नो पनि भूमिका रहेकोमा जगजितले नागरिकसँग खुसी व्यक्त गरे। 'आफ्नो टिम जित्दा खुसी लाग्छ त्यसमा आफ्नो भूमिका पनि रहँदा खुसी दोब्बर हुन्छ,' जगजितले अनलाइन कुराकानीमा भने, 'यहाँ आएपछि मानसिक र शारीरिक रूपमा अझै बलियो भएको अनुभव गरेको छु। यद्यपि यहाँ एकदमै फिजिकल खेल हुन्छ, खेल्न सहज भने छैन।'
अस्ट्रेलियामा रहेको नेपालीसम्मिलित यती एफसीको पहलमा जगजित दुई साताअघि चार महिनाका लागि उक्त क्लबमा आबद्ध भएका थिए।

No comments:

Post a Comment