Monday, April 18, 2016

नेपाली क्रिकेट हाँक्ने निकाय छैन : आइसिसी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का ग्लोबल विकास निर्देशक टिम एन्डरसनले नेपाली क्रिकेटमा तत्काल दैनिक कामकाजका लागि समेत कुनै आधिकारिक प्रशासनिक निकाय नभएको बताएका छन्।
नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) को विवादवारे बोल्दै एन्डरसनले भने, 'विश्व क्रिकेट लिगअन्तर्गत नामिबियाविरुद्धका खेल आइसिसीले नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहयोगमा आयोजना गरिरहेको छ। नेपाली क्रिकेटमा दुई समानान्तर संघ छन्। क्रिकेटको विवाद अदालतमा पुगेको छ। अहिले नेपालमा कुनै क्रिकेटको सर्वोच्च निकाय छैन। आइसिसी चाढो भन्दा चाढो यस्तो अन्योलको अवस्था टुंगियोस भन्ने चाहन्छ।'
आफूले नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउने बताए। नामिबिया र नेपालबीचको खेल कीर्तिपुरमा गराउनका लागि निर्वाचित र तदर्थ समिति दुवैले सहयोगी भुमिका निर्वाह गरेको बताउँदै एन्डरसनले अदालतबाट निर्णय आएपछि नेपाली क्रिकेटको विवादले समाधानको बाटो लिने आशा व्यक्त गरे।

'आइसिसी पनि अदालतको निर्णय कुरिरहेको छ। अदालतको निर्णय आएपछि आइसिसीले त्यसको अध्ययन गरेर आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नेछ। तर पनि दुई पक्ष नमिलेसम्म क्रिकेट अगाडी बढ्न सम्भव हुन्न। त्यसैले दुई पक्ष मिल्नैपर्छ,' एन्डरसनले भने, 'हामीले आज निर्वाचित र तदर्थ दुवै समितिसँग कुरा गर्यौं । क्यानको पुरानो समितिसँग पनि हामीले कुरा गर्यौं । छलफलमा सबै पक्षालाई हामीले सकारात्मक पाएका छौं। अव नेपालको विवाद अर्को हप्ता बस्ने बोर्ड वैठकमा छलफलको विषय बन्नेछ।'

क्यानको निर्वाचन, त्यसमाथि सरकारी हस्तक्षेपलगायतका विषयमा आफूलाई कुनै आधिकारिक जानकारी नभएको बताउँदै एन्डरसनले आइसिसीले पनि नेपालको क्रिकेट चलाउन नचाहेको प्रतिक्रिया दिए। 'नेपालमा भएको निर्वाचन, क्यानमा सरकारको हस्तक्षेपवारे हामीलाई कसैले लिखित जानकारी गराएको छैन। लिखित जानकारी पाए आइसिसीले सरकारी हस्तक्षेपको विषयमा अनुसन्धान गरेर निर्णय लिन्छ,' एन्डरसनले नेपाली क्रिकेटको अन्योल विषयमा भने, 'आइसिसीले नेपालको क्रिकेटमा कुनै हस्तक्षेप गर्न खोजेको होइन। हामीले आइसिसीको प्रतियोगिता यहाँ आयोजना गरेका मात्र हौं। आइसिसीले नेपालको क्रिकेट चलाउने पनि होइन। विश्व क्रिकेट लिग च्याम्पियनसिपअघि नेपाली क्रिकेट जसरी चलेको थियो, आउने दिनमा पनि त्यसरीनै चल्छ। समस्याको समाधान यहीबाट खोज्नुपर्छ।'
Source: NagarikNews
 - See more at: http://nagariknews.com/sports/cricket/story/66856.html#sthash.P4d0NoBC.dpuf

No comments:

Post a Comment